विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार खर्च सम्बन्धी रिटमा सर्वोच्चको आंशिक फैसला

Image

सर्वोच्च अदालत ले राष्ट्रपति र उपराष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरूलाई राज्यबाट स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने प्रावधानविरुद्ध परेको रिटमा आंशिक आदेश जारी गरेको छ।

अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले सोमबार उक्त निर्णय गरेको हो।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, मनोज कुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमान रहेको इजलासले आंशिक रिट जारी गरेको हो।

हालसम्म राष्ट्रपति र उपराष्ट्रपतिले कार्यविधिका आधारमा स्वास्थ्य उपचार खर्च लिँदै आएका थिए। तर जनस्वास्थ्य सेवा ऐन ले यस्तो सुविधा निषेध गरेको देखिन्छ। यद्यपि राष्ट्रपति तथा उपराष्ट्रपतिको सेवा सर्तसम्बन्धी ऐन मा भने उपचार खर्च उपलब्ध गराउने व्यवस्था छ, जसले दुई ऐनबीच द्वन्द्व सिर्जना गरेको थियो।

यसै विवाद समाधानका लागि २०७३ सालमा निर्देशिका जारी गरिएको थियो। तर उक्त निर्देशिका र कानुनी व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै रिट दायर गरिएको थियो।

सर्वोच्च अदालतले आंशिक रूपमा रिट स्वीकार गरे पनि कुन-कुन बुँदामा आदेश जारी भएको हो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ।