बीपी राजमार्ग मंगलबार रातिदेखि पुनः अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सनहरू बगाएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि बुधबार बिहानदेखि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सवारी साधन रोकेर राखिएको छ।
डाइभर्सन पुनः निर्माण गर्न समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। साथै सडक अवस्थाबारे जानकारी लिन नेपाल प्रहरी को १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
















