नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। हालसम्म परराष्ट्र मन्त्रालय का कर्मचारी तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा नियुक्ति हुँदै आएकोमा सरकारले नयाँ अभ्यास सुरु गर्न लागेको हो।
परराष्ट्र मन्त्री शिशिर खनाल को सचिवालय स्रोतका अनुसार निश्चित संख्यामा विज्ञापन खुलाएर प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी राजदूत नियुक्त गर्ने तयारी भइरहेको छ। यसबारे मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा पनि मन्त्री खनालले जानकारी दिएका थिए।
स्रोतका अनुसार रिक्त पदका लागि विज्ञापन निकाल्न प्रधानमन्त्रीको समेत सहमति भइसकेको छ र चाँडै दरखास्त आह्वान हुने सम्भावना रहेको छ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूतमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ।
हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये १७ राजदूत पद रिक्त रहेका छन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्ला सरकारहरूले फिर्ता बोलाउने निर्णय गरेका थिए।
आगामी जुलाई अन्त्यसम्म थप केही देशका राजदूतहरूको कार्यकाल सकिने भएकाले एकैपटक ठूलो संख्यामा नयाँ नियुक्ति गर्ने अवसर सरकारलाई प्राप्त हुने देखिएको छ।
















