म्याग्दीबाट प्रतिनिधि सभाबाट निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग नगद २९ लाख जति रूपैयाँ बैंकमा मौज्दात रहेको बताएका छन् । नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँजति मौज्दात रहेको बताएका छन् ।
नेपाल बैंकमा रहेको ४ लाख साथीहरूले सहयोग गरेको र २५ लाख रुपैयाँ गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दा सहयोगीहरूले दिएको रकमबाट बचेको बताएका छन्। यो रकम म्याग्दीमा रहेको सम्पर्क कार्यालय सञ्चालनमा सहयोग गरिने पुनले बताएका छन् ।
उनले आफूसँग तीन तोला सुन रहेको विवरण उल्लेख गरेका छन् । ती सुन २०६० सालतिर खरिद गरेको र श्रीमतीलाई उपहार दिएको उल्लेख गरेका छन् ।
सांसद पुनले आफूसँग कास्कीकै चार ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन्। एक स्थानमा १३ आना, दोस्रो ठाउँमा ३ रोपनी ३ आना, तेस्रो स्थानमा १५ रोपनी १० आना १ दाम र चौथो ठाउँमा ८ रोपनी, ५ आना ३ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ।
















