महिनामै तीन हजारले घट्यो सुनको मूल्य

एक महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलाको तीन हजार रुपैयाँले घटेको छ ।

गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपैयाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्दै गएको जानकारी दिए । लामो समयदेखि बढ्दै गएको सुनको मूल्यमा पछिल्लो उतारचढाव आएकाले बजार अस्थिर रहेको उनको भनाइ छ । गत जेठ महिनादेखि बढ्दै गएको सुनको मूल्य साउन दोस्रो सातादेखि क्रमिक रूपमा ओरालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔँस सुनको मूल्य एक हजार ८८९ डलरमा कारोबार भइरहेको छ । अघिल्लो सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९१२ डलरमा कारोबार भएको थियो । गत शुक्रबारसम्म घटेर प्रतिऔँस एक हजार ८९२.२६ डलरमा झरेको थियो । लगानीकर्ता सुनमा आकर्षित हुन छाडेपछि मूल्यमा क्रमिक रूपमा गिरावट हुँदै आएको बताएको छ ।

बजारमा कारोबार न्यून हुँदा सुनको पर्याप्त मौज्दात रहेको व्यवसायीको भनाइ छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक १० केजीका दरले सुन आयात गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपैयाँको सुन आयात भएको छ । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपैयाँको सुन आयात भएको थियो ।