स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच सैन्य भिडन्त

Image

अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीन गाइडेड–मिसाइल विनाशक जहाजलाई इरानले मिसाइल, ड्रोन तथा साना डुंगामार्फत निशाना बनाएको थियो। सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै जहाजमा क्षति नभएको दाबी गरेको छ।

सेन्टकमले त्यसपछि “आत्मरक्षा”का लागि इरानका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा लक्षित हमला गरिएको जनाएको छ।
“हामी तनाव बढाउन चाहँदैनौँ, तर अमेरिकी फौजको सुरक्षाका लागि पूर्ण रूपमा तयार छौँ,” सेन्टकमको विज्ञप्तिमा उल्लेख छ।

यता इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको आरोप लगाएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का अनुसार अमेरिकी सेनाले हर्मुज क्षेत्रमा प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई समेत निशाना बनाएको थियो।

इरानले केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोट सुनिएको थियो। रिभोलुसनरी गार्ड्ससँग निकट फार्स न्युजले केश्म टापुको बहमन बन्दरगाह क्षेत्रमा “शत्रु फौज”सँग भिडन्त भएको जनाएको छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इरानका दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)माथि पनि घटनामा संलग्न रहेको आरोप लगाएका छन्। ती अधिकारीहरूका अनुसार केश्मस्थित जहाज निर्माण केन्द्र, बहमन बन्दरगाह तथा बन्दर अब्बास विमानस्थल आसपासका क्षेत्र लक्षित बनेका थिए। यद्यपि यूएईले यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।

इरानको राजधानी तेहरानमा पनि बिहीबार राति ठूलो विस्फोट सुनिएको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ। पश्चिमी तेहरान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको र स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने घटनालाई सामान्य बनाउने प्रयास गरेका छन्। एबीसी न्युजसँग कुरा गर्दै उनले युद्धविराम कायम रहेको दाबी गरेका छन्। पछि ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानी साना डुंगा डुबाइएको र अमेरिकी विनाशक जहाजतर्फ प्रहार गरिएका मिसाइल तथा ड्रोन नष्ट गरिएको बताएका छन्।

ट्रम्पले इरानलाई वार्तामार्फत सम्झौता स्वीकार गर्न चेतावनी पनि दिएका छन्। “यदि उनीहरूले चाँडै सम्झौता गरेनन् भने भविष्यमा अझ कडा र हिंसात्मक जवाफ दिनेछौँ,” उनले लेखेका छन्।

उता इरानको खातम अल–अम्बिया केन्द्रीय कमाण्डले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लंघनको संज्ञा दिँदै “बलियो प्रतिकार” गर्ने चेतावनी दिएको छ। इरानी टेलिभिजन प्रेस टिभीका अनुसार केही घण्टाको तनावपछि हर्मुज आसपासको अवस्था क्रमशः सामान्यतर्फ फर्किन थालेको छ।