भारतीय चिया बोर्डले आयातसम्बन्धी नियममा आकस्मिक परिवर्तन गर्दै नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गरेपछि विगत एक सातादेखि नेपाली चियाको भारत निर्यात पूर्ण रूपमा ठप्प भएको छ। मे १ (वैशाख १८) देखि कार्यान्वयनमा आएको यो नयाँ प्रावधानले वर्षौँदेखि कायम रहेको सरल निर्यात प्रक्रियालाई अन्त्य गरिदिएको छ, जसका कारण नेपालबाट सबै कानुनी प्रक्रिया पूरा गरेर निस्किएका चियाका ट्रकहरू भारतीय नाका पानीट्यांकीमै रोकिएका छन् ।
भारतीय चियाको साख जोगाउन र गुणस्तर सुनिश्चित गर्न भन्दै त्यहाँको संसदीय समितिको सिफारिसमा चालिएको यो कदमले नेपाली चिया उद्योगलाई ठुलो आर्थिक संकटतर्फ धकेलेको छ।
नयाँ नियम अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने चियाको प्रत्येक ट्रक र प्रत्येक खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरिएको छ। यसअघि एउटै नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई निर्यातका लागि मान्यता दिने सहज व्यवस्था थियो। तर, अहिले प्रत्येक ट्रकको नमुना परीक्षणका लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क बुझाउनुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो व्यवस्था गरिएको छ। जबसम्म प्रयोगशालाबाट गुणस्तरको ‘क्लियरेन्स सर्टिफिकेट’ प्राप्त हुँदैन, तबसम्म आयातकर्ताले उक्त चियालाई भारतीय बजारमा बिक्री गर्न वा अन्य देशमा पुन निर्यात गर्न पाउने छैनन् । रिपोर्ट नआउन्जेल चियालाई अनिवार्य रूपमा छुट्टै गोदाममा सुरक्षित राख्नुपर्ने प्रावधानले नेपाली व्यवसायीलाई थप गोदाम भाडा र समयको क्षति व्यहोर्न बाध्य पारेको छ।
गुणस्तर परीक्षणमा असफल हुने चियाका हकमा अझ कडा नियमहरू राखिएका छन्। यदि कुनै खेप मापदण्डमा असफल भएमा त्यसलाई कुनै पनि हालतमा बजार प्रवेशको अनुमति दिइने छैन। व्यवसायीले चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन: परीक्षणका लागि आवेदन दिन सक्ने विकल्प त छ, तर यो प्रक्रिया निकै खर्चिलो बनाइएको छ । पुन: परीक्षणका लागि प्रतिनमुना १५ हजार भारु (करिब २४ हजार नेपाली रुपैयाँ) र अतिरिक्त वस्तु तथा सेवा कर (जीएसटी) आयातकर्ता आफैँले तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपाली सीटीसी र अर्थोडक्स चियाको निर्यात लागत ह्वात्तै बढ्ने र भारतीय बजारमा नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने देखिएको छ।
भारतीय पक्षले यो कदम उपभोक्ताको स्वास्थ्य र गुणस्तरका लागि चालिएको बताए पनि नेपाली निर्यातकर्ताहरूले यसलाई नियोजित ‘गैर-भन्सार अवरोध’का रूपमा हेरेका छन् । लामो समय चिया रोकिँदा यसको ताजगी र गुणस्तरमा समेत ह्रास आउने जोखिम छ। नेपालबाट वार्षिक रूपमा ठुलो परिमाणमा चिया भारत जाने गरेकोमा पछिल्लो अवरोधले हजारौँ किसान र मजदुरहरूको जीविकोपार्जनमा समेत असर पुग्ने देखिएको छ । सरकारले तत्काल कूटनीतिक पहल नगरे यो सिजनको नेपाली चिया निर्यात पूर्ण रूपमा धराशायी हुने र उद्योगीहरूले ठुलो नोक्सानी व्यहोर्नुपर्ने निश्चित देखिएको छ।














