स्ट्रेट अफ हर्मुज नजिक जहाजमा आगलागी : एक भारतीय नागरिकको मृत्यु, चार घाइते

Image

रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज नजिकै समुद्रमा भएको जहाज आगलागीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुबईस्थित भारतीय महावाणिज्य दूतावासले काठबाट निर्मित भारतीय मालवाहक जहाज (डो) मा आगलागी भएपछि चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि गरेको हो ।

घटनामा गुजरातका नागरिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीपछि जहाजमा सवार अन्य चार जना चालक दलका सदस्य घाइते भएका छन् ।

प्रारम्भिक विवरण अनुसार अज्ञात वस्तु प्रहार भएपछि जहाजमा आगलागी भएको बताइएको छ । आगलागीपछि अन्य जहाजमार्फत तत्काल उद्धार गरिएको थियो ।

दुबईस्थित भारतीय नियोगका अधिकारीहरूले उद्धार गरिएका नागरिकहरूसँग भेट गरी उनीहरूको अवस्था बुझेका छन् । घाइतेहरूको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय महावाणिज्य दूतावासले जहाज कम्पनीसँग निरन्तर सम्पर्कमा रही घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । साथै, पीडित र उनीहरूका परिवारलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

स्ट्रेट अफ हर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यस क्षेत्रमा हुने यस्ता घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाप्रति पुनः चिन्ता बढाएको छ ।