भ्लादिमिर पुटिनको दाबी: रुस–युक्रेन युद्ध अन्त्यतिर पुग्यो

Image

भ्लादिमिर पुटिनले रुस–युक्रेन द्वन्द्व अन्त्यतिर पुगेको बताएका छन् । दोस्रो विश्वयुद्धमा सोभियत संघको विजय दिवसका अवसरमा मस्कोमा आयोजित सीमित सैन्य परेडपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मलाई लाग्छ, यो विषय अब अन्त्यतिर पुगिरहेको छ,’ भन्दै पुटिनले युक्रेनमा जारी रुसी विशेष सैन्य अभियानतर्फ संकेत गरेका थिए । साथै उनले युक्रेन लाई पश्चिमी मुलुकहरूले दिएको समर्थनको पनि आलोचना गरे ।

यस वर्षको वार्षिक सैन्य परेडमा सुरक्षा जोखिमका कारण सामान्यतया प्रदर्शन गरिने ट्याङ्क र क्षेप्यास्त्रहरू समावेश गरिएको थिएन । युक्रेनले ड्रोनमार्फत रेड स्क्वायरलाई निशाना बनाउन सक्ने आशंकामा रुसी अधिकारीहरू उच्च सतर्कतामा रहेका थिए ।

डोनाल्ड ट्रम्प को पहलमा मस्को र किभबीच अन्तिम समयमा युद्धविराम सहमति भएपछि सम्भावित आक्रमणको जोखिम कम भएको र परेड अवरोधरहित रूपमा सम्पन्न भएको जनाइएको छ ।

पुटिनको यो टिप्पणी विजय दिवसको भाषणपछि आएको हो । उक्त भाषणमा उनले रुसले ‘न्यायपूर्ण युद्ध’ लडिरहेको दाबी गर्दै युक्रेनलाई आक्रामक शक्तिको संज्ञा दिएका थिए । साथै उनले युक्रेनले नाटो बाट व्यापक सैन्य सहयोग प्राप्त गरिरहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा पश्चिमी देशहरूको भूमिकाबारे प्रश्न सोधिएपछि पुटिनले भने, ‘उनीहरूले सहयोग गर्ने वाचा गरे र त्यसपछि रुसविरुद्धको टकरावलाई बढावा दिन थाले, जुन आजसम्म जारी छ । मलाई लाग्छ, यो विषय अन्त्यतिर पुगिरहेको छ, तर यो गम्भीर विषय हो ।’

रुस ले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनका केही भाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण शुरू गरेको थियो ।

पुटिनले दीर्घकालीन शान्ति सम्झौतापछि मात्रै भोलोदिमिर जेलेन्स्की सँग भेट सम्भव हुने बताएका छन् ।

उनले युरोपको नयाँ सुरक्षा संरचनाबारे वार्ताका लागि आफू तयार रहेको र जर्मनीका पूर्व चान्सलर गेर्हार्ड श्रोडर आफ्नो रोजाइको वार्ताकार हुने पनि बताएका छन् । श्रोडर पुटिनका निकट मित्रका रूपमा परिचित छन् ।