वीरगन्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चारवटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पाँचजना भारतको बिहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगन्ज महानगरपालिका-३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।
पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ ।















