कम्युनिस्ट एकताको आवश्यकता झन् बढ्यो : प्रचण्ड

Image

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्ट आन्दोलनप्रति श्रमजीवि वर्ग र जनताको उल्लेख्य विश्वास रहेको बताएका छन् ।

२६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्दै श्रमजीवि वर्ग र कम्युनिस्ट शक्तिबीचको एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर आजको आवश्यकता पूरा हुँदैन,’ भन्दै प्रचण्डले अब विचार, राजनीति र संगठनात्मक रूपमा नयाँ शिराबाट आन्दोलनलाई अघि बढाउनुपर्ने बताए ।

उनले विगतमा कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने प्रयास भएको स्मरण गर्दै त्यसलाई जनताले उत्साहका साथ अनुमोदन गरेको दाबी गरे । निर्वाचनमा कम्युनिस्ट शक्तिहरू झण्डै दुईतिहाइ बहुमत नजिक पुगेको उल्लेख गर्दै उनले त्यसले नेपाली जनताले कम्युनिस्टबीच एकता चाहेको सन्देश दिएको बताए ।

प्रचण्डले नेतृत्व तहबाट बेला–बेलामा एकताको प्रयास भए पनि त्यसलाई दिगो र सुदृढ बनाउन आवश्यक विकास हुन नसक्दा सफल हुन नसकेको स्वीकार गरे ।

उनले कम्युनिस्ट आन्दोलनमा एकता र विभाजनका धेरै शृङ्खला भए पनि अहिले सच्चा कम्युनिस्टबीच एकताको आवश्यकता झन् बढेको जिकिर गरे । देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको दाबी गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास अझै सतहमै नआएको टिप्पणी गरे ।

प्रचण्डले कम्युनिस्ट शक्तिहरूले आत्मसमीक्षा गर्दै श्रमजीवि वर्गप्रति भएका कमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याए ।

‘हामीले आफैंलाई राम्रोसँग समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने सच्याउनुपर्छ,’ उनले भने, ‘जनयुद्ध, जनआन्दोलन र विभिन्न अभियानबाट यहाँसम्म आइपुगेको आन्दोलनलाई अहिलेको परिस्थितिले फेरि नयाँ आधारमा एकताबद्ध हुन बाध्य पारेको छ ।’