प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

Image

प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका बालेन शाह लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ।

सुकुमवासी बस्ती हटाउने, सुरक्षा प्रशासनलगायत संवेदनशील विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएको भन्दै कांग्रेसले बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताए। उनले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा स्पष्ट जवाफ लिनुपर्ने भएकाले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राखे।

‘सुकुमवासी लगायतका विषयमा हामीले जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन शाह नै रहनुभएकोले उहाँ आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौं,’ आङ्देम्बेले भने, ‘प्रधानमन्त्री नआउने हो भने औपचारिक उपस्थिति मात्रै राख्ने हाम्रो उद्देश्य होइन।’

उनले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्रीको उपस्थितिबारे जानकारी गराउन पनि आग्रह गरिएको बताए। प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रोपटक प्रभावित भएको छ।