पोखरामा स्वीमिङ पुलमा डुबेर विद्यार्थीको मृत्यु

Image

पोखराको एक स्वीमिङ पुलमा डुबेर विद्यार्थीको ज्यान गएको छ । शनिबार राति करिब १० बजे पोखरा महानगरपालिका–७ मा रहेको फरेस्ट स्पोर्ट एरेना नामक स्वीमिङ पुलमा काठमाडौं–२९, अनामनगरका अमिर उप्रेती पानीमा तैरिएको अवस्थामा भेटिएका थिए । 

पोखरा–७, मासबारका जरेवरमा रहेको यो स्वीमिङ पुल राजेन्द्र बरालले सञ्चालन गर्दै आएका थिए । स्वीमिङ पुलमा भेटिएका उप्रेती पोखराकै गण्डकी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आएका थिए ।

अचेत भेटिएका उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको थियो । तर, चिकित्सकले उनलाई सवा १० बजे मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।