एक्सन स्पोर्ट्स एचडीले कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण प्रत्यक्ष प्रसारण गर्ने भएको छ। सोमबार आयोजित कार्यक्रममा केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जयराज भण्डारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
आयोजक कोसी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएस एन्टोर स्कुटर प्रदान गरिनेछ। यसअघि फागुन ९ देखि २१ गतेसम्म आयोजना गर्ने तयारी भए पनि विभिन्न कारणले प्रतियोगिता दुईपटक स्थगित भएको थियो। अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा सात फ्रेन्चाइज टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने ड्राफ्टमार्फत थप तीनदेखि ६ खेलाडीसम्म समावेश गरेका छन्।
लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
















