अख्तियार प्रमुख प्रेम राईलाई धम्क्याएको घटनामा प्रदीप अधिकारीसहित ३ जनाविरूद्ध मुद्दा

Image

उच्च पदस्थहरूलाई ज्यान मार्ने धम्क्याएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसहित १० जना उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रदीपसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । यो घटनामा प्रहरीले केही समयअघि फिलिपिन्सबाट काभ्रेका प्रकाश पाठकलाई पक्राउ गरेको थियो। उनलाई नेपाल ल्याएर अनुसन्धान गर्दा प्रदीपको ‘कनेक्सन’ खुलेको हो ।

उनीहरू दुई जनासँगै झापाका ताराप्रसाद खरेल भन्ने व्यक्तिलाई पनि प्रहरीले मुद्दा चलाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशलकुमार बुढाथोकीका अनुसार प्रकाशका विरूद्ध ६ वटा कसुरमा अनुसन्धान भएर मुद्दा दर्ता भएको छ। उनीमाथि आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, हुण्डी सम्बन्धी कसुर, विद्युतीय कारोबार ऐन, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको हो।

प्रदीप विरूद्ध विद्युतीय कारोबार बाहेक प्रकाशकै झैं कसुरमा मुद्दा दर्ता भएको हो। ताराप्रसाद विरूद्ध आपराधिक लाभ लिन लगाउन नहुने, हुण्डी सम्बन्धी कसुर, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको हो। यही कसुरमा अर्जुनबहादुर शाही, नवीन बस्नेत, जगदम्बे गुरू भन्ने सरया किन्नेरा, प्रमोद सेढाई, चाँदमाला श्रेष्ठ, जेनु थापा, रवि सिंघल लगायत पनि अनुसन्धानको घेरामा छन्।

प्रदीप अधिकारी हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। उनीविरुद्ध चारवटा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ।  भ्रष्टाचार मुद्दा रोक्न उनले राजनीतिक लबिइङ गर्नेदेखि अन्डरवल्र्ड खडा गरी धम्काउने तथा तान्त्रिक समेत प्रयोग गरेको छानबिनमा खुलेको छ । त्यस्तै, जेनजी आन्दोलनपछि आफुलाई जेनजी अगुवा भन्ने केही व्यक्तिलाई पैसा दिएर अख्तियार प्रमुखको राजीनामा माग्न पठाएको समेत प्राविधिक अनुसन्धानमा खुलेको प्रहरी स्रोत बताउँछ । 

उनीहरूमाथि अनुसन्धानको क्रममा थप प्रमाण फेला परे छुट्टै अभियोग पेस गर्ने प्रहरीले जनाएको छ ।