बाढीको जोखिमपछि बीपी राजमार्ग पुनः बन्द

Image

लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशका विभिन्न राजमार्गहरू प्रभावित भएका छन्। जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी साधन सञ्चालन पुनः बन्द गरिएको छ भने अन्य केही मुख्य सडकमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिम बढेपछि आज बिहानदेखि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो। सडक बन्द भएसँगै यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

यसअघि पनि प्रहरीले वैशाख २१ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको थियो। अर्को आदेश नभएसम्म रातको समयमा गाडी सञ्चालन नगर्न आग्रह गरिएको छ।

वर्षासँगै जोखिम बढेपछि अहिले खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

उता, खोटाङमा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले हिल्सा–सिमकोट सडकखण्डमा पनि यातायात बन्द गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा पूर्णरूपमा सवारी सञ्चालन रोकिएको हो।

यस्तै, भोजपुरमा बाढीको जोखिमका कारण मध्यपहाडी लोकमार्ग र संखुवासभामा पहिरोको जोखिम बढेपछि कोसी राजमार्गमा अहिले एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

प्रहरीले वर्षायाममा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न, अनावश्यक यात्रा नगर्न तथा सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।