चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेपछि सुनुवाइ स्थगित भएको छ।न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, इजलासले मुद्दा हेर्न नमिल्ने अवस्था देखिएपछि अर्को दिनका लागि नयाँ पेसी तोक्न आदेश दिएको हो।
यसअघि मुद्दामा विपक्षी बनाइएको चलचित्र विकास बोर्डलाई पेसीको सूचना नपुगेको भन्दै सर्वोच्च अदालतले बुधबार पुनः सूचना दिन आदेश दिएको थियो।चलचित्रमा प्रयोग गरिएका केही शब्दले महिलालाई अपमानित गरेको दाबी गर्दै डा. रोशनी नेपालीले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन्। उनले चलचित्रले महिला समुदाय वा वर्गलाई ठेस पुर्याउने सामग्री समावेश गरेको आरोप लगाएकी छन्।यसअघि उच्च अदालत पाटनले वैशाख २३ गते चलचित्र प्रदर्शन रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै प्रदर्शनको बाटो खुला गरिदिएको थियो। उच्च अदालतको उक्त निर्णय ‘बेरित’ भएको जिकिर गर्दै डा. नेपाली सर्वोच्च पुगेकी हुन्।
उता, चलचित्र विकास बोर्डलाई सूचना दिन आदेश भएपछि आक्रोशित बनेकी डा. नेपालीले अदालतको इजलासमा अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।













