नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रम संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रतर्फ स्पष्ट रूपमा केन्द्रित हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै दुलालले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भए पनि त्यसको वैचारिक आधार र कार्यान्वयन योजना स्पष्ट नभएको टिप्पणी गरे। उनले संविधानले मार्गनिर्देश गरेको समानुपातिक तथा समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता नीति तथा कार्यक्रममा कमजोर रूपमा प्रस्तुत भएको बताए।
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने तथा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि ती लक्ष्य पूरा गर्ने ठोस आधार नदेखिएको दुलालको भनाइ थियो। उनले वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकार गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराए।
कार्बन ट्रेडिङजस्ता बाह्य अवधारणाभन्दा स्वदेशमै रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम तथा पेट्रोलियमजस्ता खनिज स्रोतको उत्खनन र उपयोगमा जोड दिनुपर्ने उनले बताए। आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई मुलुकको अर्थतन्त्र मजबुत बनाउन नसकिने दुलालको धारणा थियो।
‘यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन्। सामान्य कानुनी र संरचनागत सुधारले मात्र यति ठूला लक्ष्य प्राप्ति सम्भव छैन,’ उनले भने।
कृषि क्षेत्रमा बाँदर र बँदेललगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षतिको क्षतिपूर्ति तथा बीमाको व्यवस्था गर्नुपर्ने माग पनि उनले गरे। किसानलाई खेतीतर्फ आकर्षित गर्न यस्ता वन्यजन्तु नियन्त्रणका लागि कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानअनुसार प्रदेश सरकारलाई शान्ति सुरक्षाको जिम्मेवारी दिनुपर्ने भन्दै उनले ‘प्रदेश प्रहरी समायोजन’ प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे।















