लगातार तेस्रो दिन घट्यो नेप्से, १० अंकको गिरावट

Image

नेपाली सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको बजार बिहीबार थप १० अंकले ओरालो लागेको हो।

बिहीबारको कारोबारपछि नेप्से परिसूचक २७३० अंकमा झरेर अडिएको छ। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।आज कुल ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा व्यापार समूह ०.३२ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेका छन्। अन्य सबै समूहमा गिरावट आएको छ। ‘अन्य’ समूह सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१ तथा निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.२२ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य २.५० प्रतिशतले बढेको छ।यता, एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले घटेको छ। हिमालयन रिइन्स्योरेन्स ७.१२, नारायणी डेभलपमेन्ट बैंक ५.९१, रिजलाइन इनर्जी ४.७४ र भुजुङ हाइड्रोपावर ४.३४ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेका छन्।