शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्यांकलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।
केन्द्रले हरेक वर्ष शिशु कक्षादेखि कक्षा १२ सम्मका शैक्षिक तथ्यांक दुई पटक अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षासम्बन्धी विवरण पनि संकलन सुरु गरिएको जनाएको छ ।
केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेल ले सबै स्थानीय तह तथा सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग सम्बन्धित तथ्यांक प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार देशभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय तथा १७१ अनौपचारिक विद्यालय सञ्चालनमा रहेका छन् ।
















