साताको अन्तिम कारोबारमा नेप्से सामान्य सुधार, कारोबार रकम ३ अर्बमै सीमित

Image

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा पुगेको हो।

यद्यपि, बजारमा कारोबार रकम भने उल्लेख्य बढ्न सकेन। आज कुल ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। दोस्रो बजारमा ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच भएका छन्।

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य समूह तथा ट्रेडिङ समूहका उपसूचकहरू हरियालीमा देखिएका छन्। यता विकास बैंक, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ तथा म्युचुअल फन्ड समूहका उपसूचक भने घटेका छन्।

कारोबार भएका कम्पनीमध्ये १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ। २२ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

बजार परिसूचक सामान्य रूपमा बढे पनि कारोबार रकम न्यून रहनुले लगानीकर्तामा अझै स्पष्ट उत्साह देखिन नसकेको विश्लेषण गरिएको छ।