नेपालमा स्वीकृत वैदेशिक लगानीको १४ प्रतिशत मात्र भित्रियो, वास्तविक लगानीमा ठूलो अन्तर

Image

नेपालमा स्वीकृत वैदेशिक लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्तै न्यून रहेको देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ मा १ हजार ९ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । तर सोमध्ये ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ मात्र वास्तविक रूपमा भित्रिएको छ, जुन स्वीकृत लगानीको करिब १४ प्रतिशत हो ।

प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको अन्तर झन् फराकिलो हुँदै गएको छ ।

आर्थिक वर्ष २०७९–८० मा ३२ अर्ब ४८ करोड रुपैयाँको स्वीकृत लगानीमध्ये ९ अर्ब २० करोड रुपैयाँ मात्र भित्रिएको थियो, जुन करिब २८ प्रतिशत हो । त्यस्तै, २०८०–८१ मा ८१ अर्ब ६९ करोड रुपैयाँ स्वीकृत भए पनि केवल १० अर्ब २९ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो, जुन करिब १३ प्रतिशत हो ।

महालेखापरीक्षकको कार्यालयले वैदेशिक लगानीलाई वास्तविक रूपमा रूपान्तरण गर्न नीतिगत स्थायित्व, प्रशासनिक प्रक्रिया सरल बनाउने तथा लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक रहेको सुझाव दिएको छ ।