ललित राजवंशीले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । सोमबार कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध दुई विकेट लिँदै ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । योसँगै ललित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पाँचौँ क्रिकेटर बनेका छन् ।
यसअघि नेपालका सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५० विकेट लिएका थिए । उनीहरूले क्रमशः १५१, ९८, ९५ र ५१ विकेट लिएका छन् ।
खेलमा ललितले १४.१ ओभरमा स्कटल्यान्डका कप्तान रिचि बेरिङगटनलाई (एलबीडब्ल्यू)को धरापमा पार्दै पभेलियन फर्काएका थिए । उनले दोस्रो विकेटको निम्ति ३४.३ ओभरमा स्कटल्यान्डका माइकल लिस्कलाई पनि एलबीडब्ल्यूको शिकार बनाए ।
जारी खेलमा स्कटल्यान्डले घरेलु टोलीविरुद्ध सात विकेट गुमाएर १७९ रन बनाएको छ ।
















