नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।
एमाले केन्द्रीय सचिवालयले बैठकले ११ महिनापछि आफ्नै निर्णय उल्टाएर भण्डारीको सदस्यता नवीरकण गर्ने निर्णय गरेको हो। गत साउन ६ गते बसेको सचिवालयले बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
त्यतिबेला एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने तर्क गरेको थियो। त्यसपछि भण्डारीको एमालेमा फर्किने बाटो बन्द भएको थियो।
तर, गत फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए। त्यस्तै, ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दबाब दिँदै आएको थियो।
दुवै तर्फको दबाबमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएका हुन्। यससँगै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ।
















