कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि बारले बोलायो बैठक

Image

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा विरुद्ध दर्ता गरिएका रिट तथा निवेदनहरू सर्वोच्च अदालतमा दर्ता नभएको विषयलाई लिएर नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ ।

बारका अध्यक्ष विजयप्रकास मिश्र का अनुसार सोमबार दिउँसो ४ बजे बस्ने बैठकमा रिट दर्ता प्रक्रियामा भएको अवरोध र त्यसपछिका कदमबारे छलफल गरिनेछ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सोमबार बिहान १ बजेसम्ममा मनोज शर्माको प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका सबै रिट तथा निवेदन दर्ता गर्न सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन् ।

तर आदेश जारी भएपछि मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्च अदालतबाट बाहिरिएको बताइएको छ । उनीहरू हालसम्म कार्यालय नफर्किएको जनाइएको छ ।

बार अध्यक्ष मिश्रका अनुसार कामु प्रधानन्यायाधीशको स्पष्ट निर्देशनपछि पनि रिट दर्ता नभएको र सम्बन्धित कर्मचारी नै कार्यालयबाट बाहिरिएको अवस्थाले गम्भीर प्रश्न उठाएको छ ।

यसअघि पनि रिट दर्ता नभएपछि नेपाल बार एसोसियसनले मौखिक तथा लिखित रूपमा कामु प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको थियो । त्यसपछि कामु प्रधानन्यायाधीश मल्लले सबै रिट १ बजेसम्म दर्ता गर्न निर्देशन दिएकी थिइन् ।

यता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने आफ्नो रिट अझै दर्ता नभएको बताएका छन् ।