बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवादका कारण स्थानीयबीच झडप भएको छ । सीमा र प्रहरी चौकी निर्माणमा विवाद चर्कंदा झडपको अवस्था सिर्जना हुन पुगेको हो ।
झडपमा प्रहरीसहित पाँचजना घाइते भएका छन् । मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि बाजुराको हिमाली गाउँपालिकाका स्थानीयसँग झडप भएको थियो । हुम्ला र बाजुराको सीमा विवादले अहिले उग्ररुप लिएको हो ।
झडपमा हिमाली गाउँपालिका–३ का वडासदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । उनीहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको छ ।
उता, सीमा विवाद पुरानै भए पनि मंगलबार हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव बढेको थियो । भ्रमण टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद बढेको थियो ।
सञ्चार सम्पर्क नहुँदा धनगढीका मेयर हमालको टोलीको अवस्था पनि अज्ञात रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूले विगतदेखि चलनभोग गर्दै आएको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।














