तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य

Image

दुई दिन लगातार बढेको सुनको मूल्य आज घटेको छ।  सुनको मूल्य आज तोलामा ३३ सय रुपैयाँ घटेर २ लाख ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यववायी महासंघले जनाएको छ। 

गएको सोमबार तोलामा ८ सय बढेको सुनको भाउ हिजो थप ५ सय रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो। 

यसअघि गएको शुक्रबार र आइतबार दुई दिनमा सुनको भाउ तोलामा ८५ सय रुपैयाँ घटेको थियो।  आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १२५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ५ हजार ८५ रुपैयाँ थियो। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।