इरान पुगे पाकिस्तानका गृहमन्त्री

Image

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी फेरि इरान पुगेका छन्। पाकिस्तानको गृह मन्त्रालयका एक अधिकारीले बीबीसी उर्दुलाई बताएअनुसार गृहमन्त्रीको भ्रमण ‘अघिल्लो भ्रमणसँग सम्बन्धित छ र एजेन्डा अमेरिका र इरानबिच वार्ता पुनः सुरु गर्नु हो।’

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सी तस्निमले पनि पाकिस्तानका गृहमन्त्री इरान पुगेको पुष्टि गरेको छ।पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी यसअघि पनि ४ दिन इरानमा बिताएर गत मंगलबार मात्र स्वदेश फर्किएका थिए।

त्यतिबेला उनले इरानका राष्ट्रपति मसुद पेजेस्कियान, संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बासी अराघचीलगायत धेरै जना इरानी नेताहरूसँग भेटवार्ता गरेका थिए।

मंगलबार इरानबाट फर्केपछि गृहमन्त्री नक्वीले आफ्ना प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असीम मुनिरलाई भेटवार्ताबारे जानकारी गराएका थिए।

यद्यपि यस विषयमा पाकिस्तान सरकारले धेरै जानकारी सार्वजनिक गरेको छैन। पाकिस्तानले इरान र अमेरिकालाई मिलाउन मध्यस्थता गरिरहेको छ।

यस क्रममा केही समयअघि पाकिस्तानमा अमेरिका र इरानबिच वार्ता पनि भएको थियो। तर सहमति हुन सकेन। त्यसलै पाकिस्तानले दुई देशबिच फेरि वार्ता गराउने प्रयास गरिरहेको छ।