परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य (यूके) की मन्त्री सीमा मल्होत्राबीच आज (शुक्रबार) भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले मन्त्री मल्होत्रासँग दकशौँदेखि समाधान नभएका पूर्व ब्रिटिस गोर्खा सैनिकका समस्याहरू चाँडो सम्बोधन गर्न अनुरोध गरे।
सो विषयमा मल्होत्राले पूर्व ब्रिटिस गोर्खा सैनिकका समस्याहरू समाधान गर्न यूके सरकार सकारात्मक रहेको बताइन्। उनी यूकेकी इन्डोप्यासिफिक तथा इक्वालिटिज मन्त्री हुन्।
भेटमा दुवै पक्षबीच नेपाल-यूकेबिचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लानुपर्ने विषयमा छलफल भयो। साथै दुवै पक्षले लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु र डिजिटल प्रविधिका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता जनाए।
मन्त्री मल्होत्रा नेपालको तीन दिने भ्रमणमा छिन्। उनले आफ्नो भ्रमणको क्रममा नेपालका अन्य मन्त्रीहरूसँग पनि भेट्ने कार्यक्रम छ। साथै लुम्बिनी र कपिलवस्तुको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आजै नेपाल आएकी हुन्।
















