भारतको गोवामा आज (सोमबार)देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । सोमबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले टोलीकी गोलकिपर एञ्जिला टुम्बापो सुब्बाको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
टिममा फरवार्ड अनिता लम्जेलले ‘डेब्यु’ गर्ने भएकी छन् । त्यस्तै, रक्षक हिराकुमारी भुजेलले टोलीमा पुनरागमन गरेकी छन् । र, मिडफिल्डर प्रिती राईलाई मुख्य प्रशिक्षक न्यौपानेले प्रिती राईलाई पहिलो रोजाइमा राखेका छैनन् ।
टिमको फरवार्ड लाइनमा अनिता लम्जेल, रश्मीकुमारी घिसिङ, अनिता बस्नेत र रेखा पौडेल छन् । त्यसैगरी, मिडफिल्डमा रेनुका नगरकोटे, दीपा शाही छन् । साथै, डिफेन्स लाइनमा हिराकुमारी भुजेल, बिमला बिके, पुजा राना र गीता राना छन् ।
खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो ।
यता, भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन । टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन ।
यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । प्रतियोगितामा नेपालले भुटानविरुद्ध २३ गोल गर्दा एक गोल पनि व्यहोरेको छैन । यी दुईले पहिलोपटक सन् २०१४ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो । सन् २०१६ मा पनि नेपाल ६–० ले नै विजयी भएको थियो ।
नेपालले सन् २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको थियो । सन् २०२४ को पछिल्लो संस्करणमा भने यी दुईले गोलरहित बराबरी खेलेका थिए । यी दुईबीचको खेल भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
















