उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट

Image

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी सहयोग र भावी सहकार्यका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । छलफलमा शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान तथा दीर्घकालीन मैत्रीमा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।

उपराष्ट्रपति यादवले पछिल्ला चार दशकमा चीनले हासिल गरेको उल्लेखनीय प्रगतिको प्रशंसा गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा तथा प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, चीन–नेपाल सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राजदूत चाङ माओमिङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको बताए । उनले दुवै देशका जनताको समृद्धिका लागि निरन्तर सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।