इरानमा चर्कियो औषधि अभावको संकट

Image

अमेरिका र इजरायलसँगको युद्धविरामका बीच इरानको भुक्तानी प्रणालीले प्रभावकारी रूपमा काम नगर्दा औषधि आयात ठप्प भएको छ । यसका कारण सर्वसाधारणका लागि अत्यावश्यक औषधिसमेत पाउन मुस्किल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानमा पहिलेदेखि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध, मुद्राको अस्थिरता र बीमासम्बन्धी समस्याका कारण स्वास्थ्य सेवा प्रभावित हुँदै आएको थियो । अहिले अमेरिका र इजरायलसँग जारी युद्धले यो अवस्थालाई झन् बिगारेको बताइएको छ ।

आपूर्ति मार्गहरू अवरुद्ध भएका कारण पहिलेदेखि नै नाजुक अवस्थामा रहेको स्वास्थ्य प्रणालीमाथि थप दबाब परेको र  यसको प्रत्यक्ष असर इरानी नागरिकहरूको जीवनमा स्पष्ट देखिएको छ । 

इरान औषधिको कच्चा पदार्थ तथा विदेशमा निर्मित तयारी औषधिहरूका लागि धेरै हदसम्म आयातमै निर्भर छ । त्यसैले ढुवानीमा ढिलाइ हुँदा वा खर्च बढ्दा देशमा औषधिको अभाव हुनुका साथै मूल्य पनि आकासिने गर्छ ।

यद्यपि, ढुवानी मात्रै एकमात्र समस्या नभएको बताइएको छ । औपचारिक रूपमा औषधिहरूलाई प्रतिबन्धको सूचीबाट बाहिर राखिए पनि बैंकिङ तथा भुक्तानी प्रणालीमाथि लगाइएका प्रतिबन्धका कारण तिनको खरिद प्रक्रिया निकै कठिन, ढिलो र महँगो भएको बताइएको छ ।

यो वित्तीय अवरोधले धेरै वर्षदेखि इरानको औषधि क्षेत्रलाई प्रभावित पार्दै आए पनि अहिले युद्धका कारण अझ गम्भीर बनेको समाचारमा उल्लेख छ । लगातार बढ्दो मूल्य, धरमराएको आपूर्ति व्यवस्था, जीर्ण बन्दै गएको पूर्वाधार तथा सर्वसाधारणको क्रयशक्तिमा आएको ह्रासले यो समस्या झन् विकराल बनेका बताइएको छ ।

इरानी फर्मासिस्ट एसोसिएसनका प्रवक्ता हादी अहमदीले चेतावनी दिँदै युद्धका कारण औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव हुन सक्ने बताएका छन् । उनका अनुसार आल्मुनियम तथा पेट्रोकेमिकल सामग्रीको आपूर्ति प्रभावित हुन थालेको छ ।

हाल उपलब्ध औषधिहरूको स्टकसमेत प्याकेजिङ सामग्री र कच्चा पदार्थको अभावका कारण भविष्यमा निरन्तर उत्पादन गर्न कठिन हुने देखिएको छ ।