सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

Image

नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेखनीय वृद्धि भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतले बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि जेठ १५ गते छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ। दुई दिनअघि १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ रहेको थियो।सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। जेठ १५ गते चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको थियो।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।सरकारले बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार दर बढाउने घोषणा गरेपछि बजारमा तत्कालै मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर र सरकारी कर नीतिको प्रभावका कारण आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव रहने अनुमान गरिएको छ।