अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन्।आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै उनले तलब वृद्धिबारे विभिन्न कोणबाट उठाइएका प्रश्न र आशंकाको खण्डन गर्दै सरकारले घोषणा गरेअनुसार २१ प्रतिशतकै दरले तलब बढेको बताए।
“तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा कुनै भ्रम नरहोस्। कतिपयले झुक्क्यायो वा ढाँट्यो भन्ने टिप्पणी गरेको देखेँ, तर त्यस्तो होइन,” मन्त्री वाग्लेले भने, “१० प्रतिशत आधारभूत तलबमै वृद्धि गरिएको हो भने अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिएको व्यवस्थाका रूपमा ल्याइएको छ।”उनले हालका लागि उक्त अतिरिक्त सुविधा सबै कर्मचारीले पाउने स्पष्ट पार्दै भविष्यमा प्रशासनिक सुधार कार्यान्वयनसँगै यसलाई कार्यसम्पादनमा आधारित बनाउन सकिने संकेत गरे।
“यो पर्फमेन्स रिलेटेड मेजर सुरु गर्ने प्रयास हो। अहिले सबैले पाउँछन्, तर आगामी दिनमा सुधार प्रक्रिया अघि बढेपछि यसलाई समायोजन गर्न सकिन्छ,” उनले भने, “त्यसपछि दिइने प्रोत्साहन भत्ता साँच्चिकै कार्यसम्पादनका आधारमा हुनेछ।”अर्थमन्त्री वाग्लेले कर्मचारीलाई हाल दिइँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्ता भने यथावत् रहने जानकारी दिए।सरकारले सार्वजनिक गरेको बजेटमा कर्मचारीको तलब तथा सुविधा वृद्धिलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला अर्थमन्त्रीको यो भनाइलाई तलब वृद्धिसम्बन्धी सरकारी धारणा स्पष्ट पार्ने प्रयासका रूपमा हेरिएको छ।
















