सरकारको कर नीति र राजस्व संकलनको मूल मार्गदर्शन मानिने ‘आर्थिक विधेयक’ संसद्मा दर्ता भइसकेपछि अर्थ मन्त्रालयले अनधिकृत रूपमा व्यापक फेरबदल गरेको छ। आगामी आर्थिक वर्षको बजेटसँगै १५ जेठमा संसद्मा पेश भएको मूल विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको दस्तावेजमा करका दर, दायरा र नीतिगत छुटसम्बन्धी विषयमा गम्भीर भिन्नता पाइएको हो ।
संसद् सचिवालयमा अर्थमन्त्रीले दर्ता गराएको आधिकारिक विधेयक ४६७ पृष्ठको छ । तर, संसद् र सांसदहरूलाई पूर्णतः अन्धकारमा राखेर, अर्थमन्त्री स्वर्णीम वाग्लेको नीतिगत नेतृत्वमा अर्थ मन्त्रालयले एकपक्षीय रूपमा चार पटकसम्म चोर बाटोबाट संशोधन गर्दै ४५० पृष्ठको कृत्रिम दस्तावेज सार्वजनिक गरेको छ । संसद्मा टेबल भइसकेको विधेयकको कमा वा फुलस्टप चलाउन पनि संसद्को अनुमति चाहिने कानुनी व्यवस्थालाई धज्जी उडाउँदै अर्थमन्त्रीले ‘प्रशासनिक हुकुमी शैली’ मा करका दरहरू निश्चित व्यापारिक घरानाको अनुकुल हुने गरी बद्लेका हुन् ।
अर्थमन्त्रीको ‘बहादुरी’ कि वित्तीय अपराध ?
विगतमा आर्थिक विधेयकमा लेखिएका विषय ढुङ्गाको अक्षर सरह हुन्थे । कुनै त्रुटि नै भए पनि त्यसलाई संसद्भित्रै औपचारिक संशोधन प्रस्ताव ल्याएर मात्रै सच्याउने परम्परा थियो । तर, वर्तमान अर्थमन्त्रीले संसदीय सर्वोच्चतालाई ठाडो चुनौती दिँदै संसद् बाहिरैबाट अनधिकृत रूपमा अनुसूचीहरू हेरफेर गरेर त्यसलाई आफ्नो ‘बहादुरी’ का रूपमा प्रस्तुत गरेपछि मन्त्रालयका पूर्वप्रशासकहरू समेत स्तब्ध भएका छन् ।
अर्थमन्त्रीको प्रत्यक्ष संरक्षण बिना मन्त्रालयका कर्मचारीले मात्रै नीतिगत तहमा यति ठूलो थपघट गर्न सक्दैनन् ।
अर्थ मन्त्रालयले वेबसाइटमा राखेको विधेयकमा सामान्य लिपिकीय गल्ती मात्र नभई निश्चित व्यापारिक समूह वा व्यक्तिलाई लाभ पुग्ने गरी नीति र दरहरू नै बद्लेको देखिन्छ ।
| क्र.सं. | क्षेत्र / विषय | संसद्मा दर्ता भएको मूल विधेयक | अर्थ मन्त्रालयको वेबसाइटको विधेयक | प्रत्यक्ष फाइदा / प्रभाव |
| १ | विद्युतमा भ्याट (VAT) छुट | प्रतिग्राहक मासिक ५० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई मात्र भ्याट छुट। | ‘विद्युत् शक्तिको कारोबार गर्ने व्यवसायबाट अर्को व्यवसायलाई गरिने बिक्री’ मा पनि भ्याट छुट थपियो। | अब विद्युत उत्पादकले प्राधिकरणलाई बिजुली बेच्दा भ्याट नलाग्ने गरी निजी प्रवर्द्धकलाई फाइदा। |
| २ | सिनेमा हललाई आयकर छुट | उपमहानगर र महानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्दा आयकर छुट दिने कुनै व्यवस्था थिएन। | ‘व्यावसायिक कारोबार सुरु गरेको १० वर्षसम्म आयकर पूर्ण छुट’ हुने बुँदा लुकिछिपी थपियो। | काठमाडौँ उपत्यकाकै भक्तपुर वा बुढानीलकण्ठ जस्ता नगरपालिकामा हल खोल्ने व्यक्ति विशेषलाई लाभ। |
| ३ | सन्ततिको शिक्षण शुल्क | प्राकृतिक व्यक्ति (अभिभावक) ले छोराछोरीको शिक्षण शुल्क तिर्दा करयोग्य आयबाट घटाउन पाउने व्यवस्था थिएन। | ‘शिक्षण शुल्कको २५% वा २५ हजार रुपैयाँ (जुन घटी हुन्छ) करयोग्य आयबाट घटाउन पाउने’ नयाँ उपदफा थपियो। | मध्यमवर्गलाई रिझाउन संसद् बाहिरैबाट ऐन संशोधन। |
| ४ | सुटकेस तथा ब्रिफकेस भन्सार | ब्रिफकेस, वालेट तथा सुटकेसको भन्सार दर १५ प्रतिशत उल्लेख थियो। | भ्याक्सिन र ब्लड क्यारियरबाहेकका अन्य सबै सुटकेस, वालेट र ब्रिफकेसको भन्सार दर ३० प्रतिशत पुर्याइयो। | संसद्लाई छलेर भन्सार दर शतप्रतिशत वृद्धि। |
| ५ | विद्युतीय सवारी (EV) सडक दस्तुर | सबै किसिमका विद्युतीय सवारीसाधनमा ५ प्रतिशतका दरले सडक निर्माण दस्तुर लिने व्यवस्था थियो। | पैठारी मूल्य २० लाख रुपैयाँसम्म भएका निश्चित कोडका इभीमा दस्तुर घटाएर २.५ प्रतिशत मात्र कायम गरियो। | निश्चित मोटर गाडी आयातकर्तालाई फाइदा पुग्ने गरी बीचैमा नीति परिवर्तन। |
| ६ | स्वच्छ पूर्वाधार लगानी शुल्क | भन्सार विन्दुमा अन्तःशुल्क तिरिसकेका इभीलाई यो शुल्कमा छुट दिने कुनै व्यवस्था थिएन। | ‘भन्सार विन्दुमा अन्तःशुल्क भुक्तानी गरिसकेका सवारीमा स्वच्छ पूर्वाधार शुल्क लाग्नेछैन’ भनी बुँदा थपियो। | आयातकर्ताहरूलाई अतिरिक्त आर्थिक लाभ। |
आर्थिक विधेयक गुपचुप सच्याउनु पूर्णतः गैरकानुनी हो । संसद् सचिवालयका अनुसार बजेट आश्रित विधेयकहरू (आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक) पारित गर्ने र संशोधन गर्ने एउटा निश्चित संवैधानिक प्रक्रिया रहेको छ। विधेयकमा सैद्धान्तिक छलफल भएपछि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइन्छ।
यदि सरकार वा सांसद कसैले पनि केही सच्याउनुपर्ने ठानेमा त्यही समयमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्छ र सभामा छलफल भएर मात्रै त्यो पारित हुन्छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट विधिवत् रूपमा पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै विधेयकले ऐनको रूप लिने र कार्यान्वयनमा आउने हुनाले बीचैमा मन्त्रालयले यसको अक्षर फेर्नु व्यवस्थापिकाको अधिकारमाथिको ठाडो हस्तक्षेप मानिन्छ।















