नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। यसलाई नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपालको यो निर्वाचन बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा बढी समयदेखि रहँदै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय समुदायबाट भएको सम्मान र मान्यताको रूपमा लिइएको छ।
प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि लोकबहादुर थापा ले सदस्य राष्ट्रहरूले नेपालप्रति देखाएको विश्वास र समर्थनका लागि आभार व्यक्त गरेका छन्।न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले समितिको नेतृत्व निष्पक्षता, पारदर्शिता र समावेशिताका सिद्धान्तअनुसार प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रथम समिति विश्वव्यापी निःशस्त्रीकरण, हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियाको प्रमुख मञ्च मानिन्छ। नेपालको नेतृत्वले यस क्षेत्रमा मुलुकको अन्तर्राष्ट्रिय भूमिका र उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।















