जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि जारी क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरस्थित सिंगापुर नेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ।
उपाधि नजिक पुगेको नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यता हङकङले मलेसियालाई ६ विकेटले हराउँदै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल र हङकङबीच पछिल्ला पाँच खेलको नतिजा हेर्दा प्रतिस्पर्धा बराबरीको देखिन्छ। तीमध्ये दुई खेलमा हङकङ विजयी भएको छ भने नेपालले एक खेल आफ्नो पक्षमा पारेको छ। बाँकी दुई खेल भने नतिजाविहीन बनेका थिए।
यद्यपि, फाइनलअघि नै नेपाल, हङकङ, मलेसिया र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद २०२६ मा स्थान सुरक्षित गरिसकेका छन्। छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेसँगै यी चार टोलीले एसियाडमा सहभागिता सुनिश्चित गरेका हुन्।
एसियाली खेलकुदमा यी चार टोली अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछन्। आयोजक राष्ट्रको हैसियतमा जापान स्वतः छनोट भएको हो।
आगामी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर ४ देखि सुरु हुनेछ भने फाइनल खेल अक्टोबर ३ मा खेलाइने तालिका रहेको छ। आजको फाइनलमा नेपाल उपाधिसहित जापान यात्रालाई थप उत्साहजनक बनाउने लक्ष्यमा रहनेछ।
















