हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंकले मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत नेपाल र भारतबीच रियल-टाइम क्रस-बोर्डर रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।
नयाँ व्यवस्थाअनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमाबिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् ।
नयाँ प्रणालीअन्तर्गत दुवै देशका ग्राहकले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्छन् । साथै, भारतका प्रयोगकर्ताले युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन् ।















