एसएमईलाई डिजिटल कर्जा सुविधा दिन लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य

Image

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालिबीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार अब बैंकका एसएमई ग्राहकहरूले डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन व्यवसायहरूले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ ।

सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी)का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । उक्त प्लेटफर्ममार्फत योग्य उद्यमहरूले आफ्नो ईआरपी प्रणालीमा रहेको व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन् ।

बैंकका अनुसार यस व्यवस्थाले कर्जा प्राप्तिको प्रक्रियालाई थप सरल, छरितो र पारदर्शी बनाउनेछ । साथै, व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुने जनाइएको छ । बैंकले यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने तथा व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

विज्ञप्तिअनुसार डाटा–आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया थप प्रभावकारी बन्नेछ । यसले साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।