ट्रम्पको घोषणा : इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सम्झौता, होर्मुज जलडमरूमध्य खुल्ने

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यसहित एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको घोषणा गरेका छन्। जी–सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका हुन्।

ट्रम्पले ‘पूर्ण रूपमा हस्ताक्षर भइसकेको दस्तावेज’ भएको दाबी गर्दै यो सहमतिले क्षेत्रीय तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। वरिष्ठ अमेरिकी अधिकारीहरूका अनुसार सम्झौतामा शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने र त्यसैदिनदेखि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याइनेछ।

सम्झौताअनुसार इरानको आणविक कार्यक्रमबारे प्राविधिक वार्ता यसै सातादेखि सुरु हुनेछ। यद्यपि इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने वा रोक्का सम्पत्ति फुकुवा गर्ने विषय भने इरानले सम्झौताका सर्तहरू कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन गर्छ भन्नेमा निर्भर रहने बताइएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसलाई प्रारम्भिक समझदारीपत्र (एमओयू) को रूपमा व्याख्या गर्दै आगामी चरणमा प्राविधिक र कानुनी विषयमा विस्तृत वार्ता आवश्यक रहेको बताए। उनका अनुसार सम्झौताले इरानले आफ्ना दायित्व पूरा गरेबापत आर्थिक तथा कूटनीतिक लाभ प्राप्त गर्ने आधार तयार गरेको छ।

सम्झौताको प्रारम्भिक मस्यौदामा इरानले क्षेत्रीय शान्ति र स्थायित्वप्रति प्रतिबद्धता जनाउने, आतंकवादी समूहहरूलाई आर्थिक सहयोग नगर्ने तथा आणविक हतियार निर्माण नगर्ने प्रमाणित प्रतिबद्धता व्यक्त गर्ने उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट प्रारम्भिक दस्तावेजमा हस्ताक्षर गरिसकेका छन्। सम्झौताको पूर्ण पाठ औपचारिक समारोहपछि सार्वजनिक गरिने जनाइएको छ।

यस सहमतिले हाल कायम युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गर्नेछ। यही अवधिमा अन्तिम र विस्तृत शान्ति सम्झौताका लागि दुवै पक्षबीच थप वार्ता हुने बताइएको छ।

सम्झौताको मध्यस्थतामा भूमिका खेलेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लेबनानसहित विभिन्न मोर्चामा सैन्य गतिविधि रोक्ने विषय पनि समझदारीमा समेटिएको बताएका छन्। तर अमेरिकी अधिकारीहरूले इजरायलको आत्मरक्षाको अधिकार सुरक्षित रहने र लेबनानी भूभागबाट इजरायली सेना फिर्ता हुनु सम्झौताको सर्त नरहेको स्पष्ट पारेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्न नदिने आफ्नो अडान दोहोर्‍याएका छन्। उनले लेबनान, सिरिया र गाजाका सुरक्षा क्षेत्रमा आवश्यकताअनुसार इजरायली सेना रहने बताएका छन्।

यसबीच लेबनानी सञ्चारमाध्यमहरूले सम्झौता घोषणापछि पनि इजरायली हवाई आक्रमण भएको दाबी गरेका छन् भने हिजबुल्लाहले त्यसको जवाफमा मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिइसकेको र स्ट्रेट अफ होर्मुजमार्फत तेल बोकेका जहाजहरू पुनः आवतजावत गर्न थालेको दाबी गरेका छन्।

इरानका उपपरराष्ट्रमन्त्री काजेम घारीबाबादीले पनि सैन्य कारबाही अन्त्य भएको पुष्टि गर्दै कतारी मध्यस्थकर्ताको लामो वार्तापछि प्रारम्भिक सहमति सम्भव भएको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूले यसलाई इरानको कूटनीतिक जितका रूपमा प्रस्तुत गरेका छन्।

यद्यपि इरानको परराष्ट्र मन्त्रालयले अमेरिकाप्रति अझै गहिरो अविश्वास रहेको उल्लेख गर्दै यो सम्झौतालाई तनाव कम गर्ने प्रारम्भिक कदम मात्र भनेको छ।

बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नहुने अडान दोहोर्‍याएका छन्। साथै इरानले आफ्नो आणविक कार्यक्रममा स्पष्ट र प्रमाणित सुधारका कदम चाले प्रतिबन्ध हटाउने विषयमा आफूहरू तयार रहेको जनाएका छन्।

बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले यो सहमतिलाई युद्धको अन्त्य, क्षेत्रीय स्थिरता र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनतर्फको महत्वपूर्ण कदमको संज्ञा दिएका छन्।