इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन–ग्वेरले अमेरिका र इरानबीच घोषित सम्झौता आफ्नो मुलुकका लागि बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इरानका लागि बाध्यकारी नरहेको बताएका हुन् । इतामारले लेखेका छन्, ‘ट्रम्पको सम्झौता मान्न हामी विवश छैनौं । इजरायल अमेरिकाको अधीनमा छैन । हामी एक स्वतन्त्र र सार्वभौम राष्ट्र हौं ।’
इजरायल सरकारको जिम्मेवारी इजरायली नागरिक, आईडीएफका सैनिक र यहुदी समुदायका प्रति रहेको उनको भनाइ छ । राष्ट्रिय सुरक्षामन्त्री इतामारले आफ्नो पोस्टमा इजरायल कुनै ‘अस्थिर देश’ नभएको पनि उल्लेख गरेका छन् ।
‘हामी स्पष्ट गर्न चाहन्छौं कि हामी अमेरिकासँग प्रेम गर्छौं र राष्ट्रपति ट्रम्प प्रति आभारी छौं । तर, पनि इजरायल कुनै ‘बनाना स्टेट’ (केरा राज्य) होइन,’ उनले लेखेका छन्, ‘म यो कुरा प्रधानमन्त्रीसँग बारम्बार भन्दै आएको छु र अहम स्थानमा पनि दोहो¥याउँदै आएको छु ।’
इतामारले हिज्बुल्लाहलाई पूर्णतया समाप्त नगर्दासम्म इजरायलले कुनै पनि सम्झौताका प्रति सहमत आवश्यक रहेको बताएका छन् । उनी कट्टर दक्षिणपन्थी नेता मानिन्छन् ।














