राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बैठक आज दिउँसो साढे १२ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्नेछ।
उनका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा महाधिवेशन केन्द्रित रहनेछ। बैठकले पार्टीको आगामी महाधिवेशनको मिति समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा बोलाइएको जानकारी दिए। पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा महाधिवेशन तयारीका विषयमा बैठकमा विस्तृत छलफल हुने बताइएको छ।















