पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १० खर्ब रुपैयाँ बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तयारी गरेको बताएका छन्।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्र रहे पनि आगामी तीन वर्षका लागि आवश्यक पूर्वाधार आयोजनाहरूको ठेक्का एकैपटक आह्वान गर्न लागिएको जानकारी दिए।उनले ठेक्का प्रक्रिया हाल कायम रहेको दररेटका आधारमा अघि बढाइने र निर्माण सामग्री तथा लागतमा हुने मूल्यवृद्धिलाई स्वतः समायोजन गर्ने व्यवस्था गरिने बताए।
मन्त्री लम्सालका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना टेन्डर प्रक्रियामै खर्च हुने भएकाले बजेट कार्यान्वयनको गति अपेक्षाकृत कम देखिन सक्छ। तर, तीन वर्षका लागि आवश्यक ठेक्का एकैपटक आह्वान गर्दा परम्परागत रूपमा २० देखि २२ महिना लाग्ने प्रक्रिया ६ देखि ७ महिनामै सम्पन्न हुने उनको दाबी छ।
उनले यस्तो व्यवस्थाले समयको बचत हुनुका साथै आयोजना कार्यान्वयनलाई तीव्रता दिने र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।















