नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबारको तुलनामा पनि सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले घटेको देखिएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ रहेको थियो।
यता चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।














