मोरक्कोका राष्ट्रिय फुटबल टोलीका कप्तान हाकिमीमाथि बलात्कारको मुद्दा चलाउने निर्णय

Image

मोरक्कोका राष्ट्रिय फुटबल टोलीका कप्तान असरफ हाकिमीविरुद्ध लागेको बलात्कार आरोपको मुद्दा अदालतमा सुनुवाइ हुने भएको छ। फ्रान्सेली सरकारी वकिलहरूले सन् २०२३ मा दर्ता भएको उक्त मुद्दालाई अदालतमा लैजाने प्रक्रिया अघि बढेको पुष्टि गरेका छन्।

हाकिमीमाथि पेरिसस्थित आफ्नै घरमा एक २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। यस घटनापछि पेरिस नजिकको नान्तेरेस्थित सरकारी वकिलको कार्यालयले मार्च २०२३ देखि अनुसन्धान सुरु गरेको थियो।

फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार फेब्रुअरी २०२६ मा अनुसन्धानकर्ता न्यायाधीशले मुद्दालाई अदालतमा लैजान आदेश दिएका थिए। हाकिमीले मुद्दा खारेज गर्न दिएको पुनरावेदन पनि अदालतले अस्वीकार गरेको बताइएको छ।

हाकिमीले भने सुरुदेखि नै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । शुक्रबार स्कटल्याण्डविरुद्धको विश्वकप खेलअघि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू प्रसिद्ध खेलाडी भएकै कारण मुद्दा चलाइएको दाबी गरेका छन्।

उनले लेखेका छन्, “यदि म चर्चित व्यक्ति नभएको भए यो मुद्दा कहिल्यै अगाडि बढ्ने थिएन। मैले वर्षौंसम्म आफ्नो गरिमा जोगाउन र न्याय प्रणालीमाथि विश्वास राखेर मौनता अपनाएँ। अब अदालतमा आफ्नो पक्ष राख्न उत्सुक छु।”

उता पीडित पक्षकी वकिल राहेल-फ्लोर पारडोले अदालतको निर्णयले पीडित महिलालाई राहत र न्यायको आशा दिएको बताएकी छन्। उनका अनुसार लामो कानुनी प्रक्रियापछि अब मुद्दा न्यायिक निष्कर्षतर्फ अघि बढेको छ।

हाल मोरक्कोका विश्वकप समूह चरणका खेलहरू अमेरिकामा भइरहेका छन्। तर टोली नकआउट चरणमा पुगेर खेलहरू Canada मा खेल्नुपर्ने अवस्था आएमा हाकिमीलाई प्रवेशसम्बन्धी कानुनी चुनौती आउन सक्ने बताइएको छ। क्यानडाको कानुनले गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिको प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरेको छ।

२७ वर्षीय डिफेन्डर हाकिमी मोरक्कोका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक मानिन्छन्। उनले सन् २०१६ मा १७ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन् २०२२ को विश्वकपमा मोरक्कोलाई ऐतिहासिक रूपमा सेमिफाइनलसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। हाल उनी पेरिस सेन्ट-जर्मेन (पिएसजी) बाट खेल्दै आएका छन् र पछिल्ला सिजनहरूमा क्लबका लागि महत्वपूर्ण सफलता हासिल गरेका छन्।