बागमती प्रदेश आर्थिक तथा सामाजिक विकासका अधिकांश सूचकाङ्कमा देशका अन्य प्रदेशभन्दा अगाडि रहेको तथ्य सार्वजनिक भएको छ। प्रदेश सरकारका अनुसार बागमतीको साक्षरता दर, प्रतिव्यक्ति आय, आर्थिक वृद्धिदर तथा गरिबी न्यूनीकरणका सूचक राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा राम्रो रहेका छन्।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशतभन्दा बढी हो।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रक्षेपण गरिएको मन्त्री तामाङले बताए।आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब नौ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसमध्ये बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।
त्यस्तै, राष्ट्रिय प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिएकामा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशमध्ये सर्वाधिक दुई हजार ६४४ अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ।गरिबीका सूचकमा पनि बागमती प्रदेश राष्ट्रिय औसतभन्दा धेरै राम्रो अवस्थामा रहेको देखिएको छ। सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख भएअनुसार मुलुकको निरपेक्ष गरिबी दर २०.२७ प्रतिशत र बहुआयामिक गरिबी दर १७.४ प्रतिशत रहेको छ। तर बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ।
प्रदेश सरकारले यी तथ्याङ्कहरूले बागमती प्रदेश आर्थिक उत्पादन, मानव विकास तथा जीवनस्तरका दृष्टिले देशको अग्रणी प्रदेशका रूपमा स्थापित भएको संकेत गरेको जनाएको छ।













