श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि

Image

मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ ।

श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने बताए ।

उनका अनुसार सेवा निर्यातले हाल श्रीलङ्काको कूल निर्यात आम्दानीको करिब २२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२५ मा सेवा निर्यातबाट श्रीलङ्काले तीन अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो ।

चालु वर्षको पहिलो चार महिनामा सेवा निर्यातबाट एक दशमलव २८ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० दशमलव पाँच प्रतिशतले बढी हो । सूचना प्रविधि क्षेत्रले विशेष रूपमा उल्लेखनीय वृद्धि हासिल गरेको विजेसिंघेले उल्लेख गरे ।

उनले सरोकारवालासँगको परामर्शमा विगत १० महिनादेखि राष्ट्रिय निर्यात विकास योजना (एनइडिपी) तयार गरिएको जानकारी दिँदै उक्त योजनाले सूचना प्रविधि र ढुवानी तथा आपूर्ति क्षेत्रलाई थप विकास गर्नुपर्ने प्रमुख सेवा क्षेत्रका रूपमा पहिचान गरेको बताए ।

विजेसिंघेका अनुसार आइटी क्षेत्रको निर्यात आम्दानी हालको करिब दुई अर्ब अमेरिकी डलरबाट पाँच अर्ब डलरभन्दा माथि पु¥याउन सके ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै देशमा विदेशी मुद्रा आर्जनसमेत उल्लेख्य रूपमा बढ्नेछ ।

जहाज निर्माण, जहाज मर्मत र ढुवानी तथा आपूर्ति क्षेत्रले पनि पर्याप्त अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले श्रीलङ्काको भौगोलिक अवस्थिति यी क्षेत्रको विकासका लागि अनुकूल रहेको बताए । ती क्षेत्रलाई द्रुत र रणनीतिक रूपमा विकास गर्नसके देशले थप विदेशी मुद्रा आर्जन गर्नसक्ने उनको भनाइ छ ।

एनइडिपीअन्तर्गत श्रीलङ्काले विभिन्न प्राथमिकताप्राप्त क्षेत्र पहिचान गरेको छ । विद्यमान प्रमुख निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै उत्पादन विविधीकरण, बजार विस्तार तथा नयाँ मुलुकसम्म पहुँच बढाउन नयाँ क्षेत्रको विकास आवश्यक रहेको विजेसिंघेले बताए ।