ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने

ललितपुर महानगरले कुस्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल अपाङ्गतामैत्री हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो ।

महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो । आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन । ललितपुर महानगरले केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने जनाएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए । उनले भने, ‘‘उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ, गएको एक वर्षमा छ, सात जनाको ज्यान गइसक्यो ।’’

कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा पुल निर्माण गरिनेछ । महानगर प्रमुख महर्जनले ढिलै भए पनि आकाशे पुल निर्माणका लागि स्वीकृति दिएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धन्यवाद दिए । शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ । यो ग्लास पारदर्शी हुन्छ ।

महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरे । उनले भने, ‘‘आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङ्गतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैन, बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन्, पुल चढेपछि थकाई लाग्छ, यो पुलबाट सडक वारपार गर्दा थकाई लाग्दैन ।’’ ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमुना आकाशे पुल हुने उनले दाबी गरे ।

पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने स्पष्ट पारे । उनका अनुसार करिब चार करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए ।