नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ

Image

भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।जिल्ला महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि गएराति करिब १० बजे चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सामान्य विवादबाट सुरु भएको झैझगडाले उग्र रूप लिँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।