मेस्सीको विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश

Image

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसहित लिओनल मेस्सीले दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका छन्। समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

अस्ट्रियाविरूद्ध सोमबार राति भएको खेलमा मेसीले पहिलो गोल ३८ मिनेटमा गरेका थिए भने दोस्रो गोल खेल सकिनु केही मिनेटअघि थपिएको समयमा गरेका थिए। आजकै खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्नबाट भने चुके।

३८ वर्षको उमेरमा पनि जादुमयी खेल प्रदर्शन गरिरहेका मेस्सीले आजको दुई गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म १८ गोलको कीर्तिमान राखेका छन्।

उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेसीले फेरि एकपटक इतिहास रचेका हुन्।

विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीपछि क्लोज १६ गोलसहित दोस्रो स्थानमा छन्। त्यसपछि ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा छन्। जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पेले समान १४ गोल गरेका छन्।